कञ्चनरूप, २६ असार । सातौँ संस्करणको मेयर कप सप्तरी प्राईड लिग (एसपीएल) टी–२० क्रिकेट प्रतियोगिता सप्तरीको राजविराजमा बिहिबारदेखि सुरु भएको छ ।
सप्तरी क्रिकेट सँघकाे आयाेजना तथा राजबिराज नगरपालिकाकाे सहयाेग र नेपाल क्रिकेट सँघ एवं मधेश प्रदेश क्रिकेट सँघकाे सहकार्यमा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा राजदेवी रोयल र खडक वारियर्स विजयी भएका छन् ।
स्थानीय पब्लिक माध्यमिक विद्यालय राजविराजको खेलमैदानमा सम्पन्न बिहीबारको पहिलो खेलमा राजविराज राजदेवी रोयलले कञ्चनरुप राइनोजलाई ३७ रनले पराजित गरेको छ ।
जितको लागी १२१ रनको लक्ष्य पाएको राइनोजले निर्धारित १५ ओभरमा ८३ रन मात्र बनाउन सक्यो । उसको लागि रौनक सिंहले सर्वाधिक २५ रन बनाए भने प्रविन भुजेलले १९ तथा महानन्द यादवले १२ रनको योगदान दिए ।
राजविराज राजदेवी रोयलको बलिंगमा यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका अभिषेक तिवारी र दिवान पुनले समान २ विकेट लिए । मोहम्मद सोहेल र शिव दासले १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको रोयलले निर्धारित १५ ओभरमा ५ विकेट क्षेतीमा १२० रन बनाएको थियो । वर्षाका कारण खेल ढिला सुरु हुँदा १५ ओभरमा घटाइएको थियो ।
रोयलको ब्याटिंगमा दिवान पुनले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले २६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सद्दाम आलमले अविजित २१ रन, रोहन बिकले १८ तथा प्रविन यादवले १५ रन बनाए ।
राइनोजको बलिंगमा अभिमन्यु सरदारले २ तथा राशिद खान, मुकेश सिंह र रौनक सिंहले १/१ विकेट लिए ।
बिहीबार नै सम्पन्न दोश्रो खेलमा खडक वारियर्सले रुपनी राइडर्सलाई २६ रनले पराजित गरेको छ ।
१३८ रनको लक्ष्य पाएको राइडर्सले १८. ५ ओभरमा १११ रनमा सबै विकेट गुमाएको थियो। एक समय ७६ रनमा मात्र १ विकेट गुमाएको राइडर्सले लगातार विकेट गुमाउन पुग्यो र थप ३५ रन जोड्दा सम्पूर्ण विकेट गुमाएको थियो ।
राइडर्सको लागि ओपनर इमरान शेखले सर्वाधिक ४० रन योगदान दिए जुन क्रममा उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे । शेख रन आउट भएपछि अन्य ब्याटर लामो समय क्रिजमा जम्न सकेनन् । महेश माझिले २३ तथा बिकी चौधरीले १४ रन योगदान दिए ।
वारियर्सको बलिंगमा कप्तान अभिषेक कार्की, पप्पु यादव (बि) र फिर्दोश अन्सारीले समान २ विकेट लिए । बाबु गोठीया, पप्पु यादव (ए) र गोपाल मण्डलले समान १ विकेट लिए ।
यस अघि पहिले ब्याटिंग गरेको खडक वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । उसको लागि ओपनर अनिल कुमार यादवले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ४१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। पप्पु यादव (बि)ले २५ , पप्पु यादव ( ए ) ले अविजित १९ रन, सन्तोष कार्कीले १३ तथा गोपाल मदनलले अविजित १० रन बनाए ।
राइडर्सका बलर नबिन मण्डलले सर्वाधिक ३ विकेट लिए। यस्तै अशोक मेहताले २ तथा बिशाल पटेलले इमरान शेखले १/१ विकेट लिए ।
८ दिन संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता छ । जसलाई दुई समुहमा बिभाजन गरिएको छ । समुह ‘ए’ मा हनुमाननगर हिरोज, कन्चनरुप राइनोज, राजगढ वारियर्स, राजविराज राजदेवी रोयल छन् भने समुह ‘बि’ मा तिराहुट टाइगर्स, रोयल च्यालेन्जर बाराही विरपुर, रुपनी राइडर्स तथा खडक वारियर्स रहेका छन् । समुह चरणमा सबै टिमले एकअर्का संग खेलेपछि दुवै समुहबाट उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल साउन १ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिनुभयो ।
राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परविणले ब्याटिंग तथा तिरहुत गाउपालिका अध्यक्ष बिजय यादबले बलिंग र प्रमुख जिल्ला अधिकारी भाेला दाहाले किपिंग गरेर बिहीवार प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।



