समाचार

सुनाखरी बोर्डिङले भव्य रुपमा मनायो गुरु पूर्णिमा

कञ्चनरूप, २६ असार । सुनाखरी इङलिस बोर्डिङ स्कुलले कार्यक्रम गरी बिहीबार गुरु पूर्णिमा मनाएको छ । कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगर (दौलतपुर) मा रहेको स्कुलले एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा गुरु पूर्णिमा मनाएको हो । 

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गुरु गुरुआमाहरुलाई श्रद्धाभाव सम्मान गरी गुरु पूर्णिमा मनाएका छन् ।

त्यस्तै उनीहरुले गुरुहरुप्रती श्रद्धाभाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाइदिएर केक लगायतका खानेकुरा तथा कलमहरु दिएर गुरुहरुबाट आशिर्वाद ग्रहण गरेका थिए । 

विद्यालयका संस्थापक अम्बिका अधिकारीले विद्यार्थीहरुले गुरुप्रति देखाएको श्रद्धाभावले आफू अत्यन्तै खुशी भएको बताउनुभयो । यस विद्यालयले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसंगै व्यावहारिक ज्ञानहरु समेत प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थीहरुको बाक्लो उपस्थितिमा थियो ।  

यस्तै आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरुले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सरह मान्ने चल रहिआएको छ । 

           गुरु पुर्णिामा 

प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाका  दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी भव्य रुपमा गुरु पूर्णिमा मनाउने गरिन्छ ।

संस्कृत शब्दमा गुरुको शाब्दिक अर्थ ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरु भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरु भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरु माता–पिता हुन् भने द्वितीयगुरु पुरोहित, शिक्षक आदि हुन् । मन्त्रदाता गुरुको प्रसिद्धि छ नै ।

यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरु ब्रह्मा  गुरुविष्णु गुरुर्देवो  महेश्वरः ।  गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमस् ।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

परम्परागत रुपमा गुरु पूर्णिमाका दिन शिष्यहरुले गुरुलाई भेट्ने चलन थियो, तर अहिले भने भेट्न भ्याउनेले भेट्छन् नभए टेलिफोन तथा सामाजिक सञ्जालमार्फत शुभकामना दिने गर्छन् । 

   

You cannot copy content of this page