कञ्चनरूप, २८ असार । सप्तरीका किसानहरूले आकासे पानी नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा पनि वर्षा हुन सकेको छैन ।
सप्तरीका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धानखेती गर्ने किसान आकासे पानीमा निर्भर छन् ।
धान उत्पादनका लागि उर्वरभूमि मानिएको सप्तरीमा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका निमित्त कार्यालय प्रमुख किसुनदेव राउतले हालसम्म जिल्लामा १० प्रतिशतमात्र रोपाइँ भएको बताउनुभयो । उहाँले भन्नुभयो, वर्षा नभएका कारण किसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन् । जति रोपाइँ भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो ।
गत बर्ष असार मसान्तसम्ममा लगभग ९८ प्रतिशत धान रोपाइँ भईसकेको थियो । तर यस बर्ष असार सकिन लाग्दा १० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
कृषी ज्ञानकेन्द्र राजविराजका अनुसार, सप्तरीमा कुल ८१ हेक्टर जग्गा रहेपनि बार्सेनि ६८ हेक्टर क्षेत्रफलमा धानबाली हुनेगर्छ । तर यस बर्ष पानी समयमा नपर्दा हालसम्म सिंचाइ, पोखरी, मोटर, कल, आदिबाट पानी पटाएर १० प्रतिशत अर्थात ६ हजार ८ सय हेक्टर जग्गामा मात्र धान रोपाइ भएको छ ।
किसानहरुले जसोतसो लगाएको धानबाली पानी नपर्दा दरा फाटेर सुक्न थालेको कार्यालय प्रमुख राउतले भन्नुभयो ।
सप्तरीको, उत्तरी भागमा रहेको चन्द्र नहर र पूर्वीभागमा रहको कोशी पम्प नरहबाट कुल जग्गाको ३५ प्रतिशत अर्थात २३ हजार ८ सय हेक्टरमा सिंचाइको सुविधा छ । तर लामो समयदेखी पानी नपर्दा त्यसको प्रत्यक्ष असर नहरहरुमा समेत परेको छ ।
पानी नपर्दा र खोलाहरुमा बाढी नआउँदा चन्द्र नहरमा पानी पनि थोरै आउने गरेको कञ्चनरूप नगरपालिका वडा नम्बर ७ सितापुरका किसान विनोद कुमार महतो बताउनु हुन्छ ।
गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो उहाँ भन्नु हुन्छ, ब्याडमा बीउ सुकेको र भएको पनि छिप्पिसक्यो। पानी परेको छैन। यो पाला धान रोप्न पाइन्छ जस्तो छैन।
कञ्चनरूप नगरपालिका–१२ का किसान महेश भट्टराईको पीडा पनि उस्तै छ । उहाँले असारमा खडेरी पर्दा किसानलाई ठूलो क्षति भएको बताउनुभयो।
यता मधेश प्रदेश सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहिवार साँझ बसेको मन्त्री परिषदको बैठकले प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मुख्यमन्त्री सतिश कुमार सिंहले बताउनुभयो ।
सप्तरीको अधिकांश जग्गामा धानखेतीका लागि आकासे पानीको निर्भरता हटेको छैन ।

