खेलकुद

सप्तरी प्राइड लिग-७ : कञ्चनरुप राईनोजको पहिलो जित 

उत्सव आचार्य 

कञ्चनरूप, २९ असार । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग सिजन ७ अन्तर्गत चौथो दिन सम्पन्न पहिलो खेलमा कञ्चनरुप राईनोजले पहिलो जित दर्ता गरेको छ ।

पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजको खेल मैदानमा आइतबार भएको खेलमा कञ्चनरुप राईनोजले राजगढ वारियर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

राजगढ वारियर्सले दिएको १ सय २५ रनको लक्ष्य कञ्चनरूप राइनोजले १६ ओभरमा पाँच विकेट गुमाएर सहजै भेटायो ।  

कञ्चनरुप राइनोजका लागि राकेश कामैतले विस्फोटक ब्याटिङ गदै अर्धशतकीय पारी खेलेका थिए । त्यस क्रममा उनले ८ चौका र ३ छक्का समेत प्रहरा गर्दै ५४ रनको योगदान आफ्नो टिमका लागि दिएका थिए । त्यस्तै, रासिदले खान ३१ र रौनक सिंहले अभिजित १७ रन बनाउँदै टिमलाई जित दिलाएका थिए । बलिङ तर्फ राजगढका विक्की पासवान तथा रोशन यादवले समान २÷२ र आनन्द मण्डलले १ विकेट लिएका थिए ।

यस अघि टस जितेर राजगढ वारियर्सले पहिला ब्याटिङ रोजेको थियो । राजगढले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २४ रनको योगफल तयार पारेको थियो ।

राजगढलाई सुरुमै ठुलो झट्काका रुपमा सलामी ब्याट्सम्यान मो. अंशारुद्ध व्यक्तिगत स्कोर शून्यमै रनआउट भएर फर्केका थिए । अर्का सलामी ब्याट्सम्यान विष्णु मण्डल आफ्नो व्यक्तिगत स्कोर ४ रनमा आउट भएर फर्किदा टिमालाई ठुलो झट्का लागेको थियो ।

राजगढका नयन यादवले मध्यक्रमका मोर्चा सम्माल्ने प्रयास गरेका थिए । तर, उनी व्यक्तिगत ३३ रन बनाएर आउट भए पश्चात टिम पुनः तनावमा परेको थियो । त्यस क्रममा उनले २५ बलको सामना गर्दै एक छक्का र ४ चौका प्रहार गरे । त्यस्तै, रोशन यादव ३२, अमित यादव १४ र मनिश यादवले १४ रन बाहेक राजगढ वारियर्सका ७ वटा ब्याट्सम्यानले दोहोरो अङ्कसम्म जोड्न सकेनन् । राजगढ वारियर्सका ४ जना ब्याट्सम्यानले आफ्नो खाता समेत खोल्न सकेनन् ।

बलिङ तर्फ कञ्चनरुप राईनोजका रासिद खान, उमेश चौधरी, अभिमन्यु सरदारले समान २÷२ विकेट लिएका थिए भने मुकेश सिंहले १ विकेट हात पार्न सफल भए ।

खेलको म्यान अफ द म्याच कञ्चनरुप राइनोजका राकेश कामैत घोषित भएका छन् ।

ग्रुप ‘ए’ मा राजगढ वारियर्स दुई खेलमा एक जित र एक हार सहित दुई अङ्कका साथ दोश्रो र कञ्चनरुप राइनोज दुई खेलमा एक जित र एक हार सहित २ अङ्कका सहित रनरेटका आधारमा तेश्रो नम्बरमा छ ।

   

You cannot copy content of this page