कञ्चनरूप, ३२ असार । सप्तरीको राजविराजमा जारि सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिग (एसपिएल)को फाइनलमा राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स भिड्ने भएका छन्।
निरन्तर वर्षाका कारण बुधबारका दुवै सेमीफाइनल खेल रद्द हुँदा समुह चरणमा दुई समुहका विजेता टिम फाइनल पुगेका हुन् । उपाधिको लागि रोयल र डिफेन्डिङ च्याम्पियन समेत रहेको टाइगर्स बिहिबार प्रतिस्पर्धा गर्ने छन् ।
राजविराज राजदेवी रोयल र खडक वारियर्स बीचको आजको पहिलो सेमीफाइनल तथा तिरहुट टाइगर्स र कञ्चनरुप राइनोज बीचको दोश्रो सेमीफाइनल खेल दुवै निरन्तर वर्षाका कारण सम्भव हुन सकेन । दुवै खेलको टस समेत हुन सकेन ।
८ टिम सहभागी प्रतियोगिताका टिमहरुलाई दुई समुहमा बिभाजन गरिएको थियो । समुह ‘ए’ को विजेताको रुपमा ३ खेलमा ५ अंक सहित राजविराज राजदेवी रोयल सेमीफाइनल प्रवेश गरेको थियो । यस्तै समुह ‘बि’ बाट ३ खेलमा ६ अंक सहित समुह विजेताको रुपमा तिरहुट टाइगर्स सेमीफाइनल प्रवेश गरेको थियो । समुह ‘ए’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुह उप-विजेताको रुपमा कञ्चनरुप राइनोज तथा समुह ‘बि’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुहको उप-विजेताको रुपमा खडक वारियर्स सेमीफाइनल प्रवेश गरेको थियो ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

