कञ्चनरूप, ७ साउन । सप्तरीको रूपनगरमा सामुदायिक विद्यालयका बालबालिकालाई लक्षित गर्दै ‘कम्प्युटर सिकाइ अभियान’ सुरु गरिएको छ। सरकारी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई प्रविधिमा पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको यो अभियान नेपालको ग्रामीण प्राथमिक तहमा सञ्चालित सम्भवतः पहिलो उदाहरण हो।
‘सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाइ’ नाम दिइएको उक्त कार्यक्रम रूपनगर नन्दराज संग्रौला क्याम्पस, एक्मी इञ्जिनियरिङ कलेज (काठमाडौं) र दलित सरोकार मञ्चको संयुक्त सहकार्यमा सञ्चालन गरिनेछ।
एक्मी इञ्जिनियरिङ कलेजले कम्प्युटर उपलब्ध गराएको छ भने कम्प्युटर र अङ्ग्रेजी विषयका प्रशिक्षक दलित सरोकार मञ्चले परिचालन गरेको छ।

पहिलो चरणमा कञ्चनरुप नगरपालिका अन्तर्गतका तीन सरकारी विद्यालयहरू – राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा; भगवती आधारभूत विद्यालय, कञ्चनपुर; र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर – छनोट गरिएका छन्।
रूपनगर क्याम्पसमा आयोजित शुभारम्भ कार्यक्रममा क्याम्पस प्रमुख प्रा. दीपक कुमार गजुरेलले भने, “कक्षा ४ मा पढ्ने तर अझै कखरा राम्रोसँग नजाने बालबालिकालाई कम्प्युटर र अङ्ग्रेजी बोल्न सिकाउने हाम्रो उद्देश्य हो।”
एक्मी इञ्जिनियरिङ कलेजका प्रिन्सिपल प्रा. इञ्जिनियर प्रदीप कुमार पौड्यालले विद्यालयहरूमा कम्प्युटर हस्तान्तरण गर्दै शिक्षकहरूसमेतलाई आधारभूत तालिम दिइने जानकारी दिनुभयो।
रूपनगर क्याम्पसले तीनै विद्यालयका १५ जना शिक्षकलाई दुई महिने कम्प्युटर तालिम निःशुल्क दिनेछ, जसको कक्षा क्याम्पसकै कम्प्युटर प्रयोगशालामा सञ्चालन हुनेछ।
कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले अभियानको उद्देश्य र भावनाबारे प्रस्ट पार्दै भन्नुभयो,
“जहाँ राज्यको पहुँच ढिलो पुग्छ, त्यहाँ नागरिक समाजले आफ्नो कर्तव्य सम्झनु पर्छ भन्ने विश्वासका साथ हामीले यो अभियान थालेका हौं।
साना, चप्पल लाउने बालबालिकाको हातमा माउस पुग्दा उनीहरूको आँखामा देखिएको उज्यालोले हामीलाई हिम्मत दिएको छ – परिवर्तन सम्भव छ।
हामीले सुरु गरेको यो अभियानबाट अपेक्षित उपलब्धि हासिल गर्न सक्यौं भने यसलाई आगामी दिनमा विस्तार गरी थप विद्यालय र शिक्षक समेट्ने योजना छ।”
तालिम कार्यक्रमको निरन्तर अनुगमन तथा मूल्याङ्कनका लागि रूपनगर क्याम्पसले तीन सदस्यीय समिति गठन गरेको छ।
कार्यक्रममा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश कुमार प्रसाद पोखरेलले शुभकामना व्यक्त गर्दै सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
कञ्चनरुप नगरपालिका वडा नं. १२ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति देवि बहादुर खत्रीले यसलाई ‘पवित्र अभियान’ भनी सबैलाई साथ दिन आग्रह गर्नुभयो।
कार्यक्रम सञ्चालन युवा सामाजिक अभियन्ता मनिष कोइरालाले गर्नुभएको थियो।




