कञ्चनरूप(सप्तरी), ८ साउन । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले हालको प्रदेश सरकार फेरबदलको कुनै सम्भावना नरहेको बताउनु भएको छ ।
मन्त्री लेखीले पछिल्लो समय सरकार परिवर्तन सम्बन्धी बाहिर फैलिएको हल्ला भ्रमपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “बाहिर जुन हल्ला छ, त्यो गलत हो। अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन।”
उहाँका अनुसार, “सरकार परिवर्तनको न त योजना छ, न त कुनै एजेन्डा। यो विभिन्न स्वार्थ समूहले आम जनतालाई अन्योलमा पार्न फैलाएको भ्रम मात्र हो।”
एमालेका केन्द्रीय सदस्य समेत रहनु भएको गृहमन्त्री लेखीले हालको सरकार जनताको जनादेशअनुसार बनेको भन्दै त्यसलाई सम्मान गर्दै स्थायित्वमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सत्ता गठबन्धनभित्र केही कुराकानी भएको स्वीकार गरे पनि मधेस सरकार परिवर्तन बारेमा छलफल नभएको प्रस्ट पार्नु भएको छ ।
मन्त्री लेखीले प्रदेशमा देखिएको दीर्घकालीन सुख्खा र खानेपानीको समस्याप्रति गम्भीर हुँदै यसको समाधान संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य बिना सम्भव नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो “केवल प्रदेश सरकारको प्रयासले समस्या समाधान हुन सक्दैन । तीनै तहको सरकार समन्वयमा लागेमा मात्र दिगो समाधान सम्भव हुन्छ । हामी समाधानका सम्भाव्य मोडलहरूमा छलफल गरिरहेका छौं।”

