समाज साहित्य / लेख रचना

नन्दलाल आचार्यद्वारा लिखित कथासङ्ग्रह ‘शल्यक्रिया’ को विमोचन

कञ्चनरूप, साउन १२ गते । कथा अब केवल सुन्ने या पढ्ने कुरा रहेन, त्यो अब अनुभूत हुने अनुभव बनिसकेको छ । त्यसैको जीवन्त प्रमाण बनेको छ आज सिरहाको गोलबजार-४ मा रहेको श्री बुढानिलकण्ठ आवासीय माध्यमिक विद्यालयको सभा हल, जहाँ लेखक नन्दलाल आचार्यद्वारा लिखित कथासङ्ग्रह ‘शल्यक्रिया’ को विमोचन विद्यार्थीहरूकै सक्रियतामा, उत्साह र चेतनापूर्ण वातावरणमा सम्पन्न भयो ।

कार्यक्रमको विशेष दृश्य थियो- विमोचनको सांस्कृतिक पुनर्पाठ । हिन्दू धर्मशास्त्रका पञ्चकन्या- अहल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरीको मिथकीय छायामा समाजका पाँच भिन्न जातीय, भाषिक र सांस्कृतिक पृष्ठभूमिका किशोरीहरू– पासाङमाया तामाङ, लक्ष्मी यादव, रानी महतो, रोशनी ठाकुर र पुनिता साहलाई ‘पञ्चकन्या’को प्रतीकका रूपमा उभ्याएर कृतिको लोकार्पण गरियो । विमोचनको यो नवीन ढाँचा केवल सांस्कृतिक सजावट थिएन, यो समावेशी दृष्टिकोणको कलात्मक उद्घोष थियो ।

विद्यालयका प्रधानाध्यापक रामवरण यादवले समारोहको सभापतित्व गर्दै भने, “हामी अब केवल पाठ्यपुस्तक पढाइरहेका छैनौं, समाज पढ्न सिक्दैछौं । ‘शल्यक्रिया’ जस्ता कृतिहरूले हामीलाई यथार्थको आँखाबाट समाज हेर्न सिकाएका छन् ।”

कुल २२३ पृष्ठको यो कथासङ्ग्रहमा २० वटा लामा कथाहरू छन्, जसको मूल्य ३५० रुपैयाँ तोकिएको छ । शब्दाङ्कुर मासिक, काठमाडौंले प्रकाशित गरेको कृतिमा खेमराज पोखरेल, पुण्य कार्की, जयराम अधिकारी र धीरकुमार श्रेष्ठका भूमिका लेखहरू समावेश छन्, जसले यसलाई बौद्धिक गहिराइ प्रदान गरेका छन् । कथाहरू खासगरी तराई-मधेसको भोगाइ, विसङ्गति र प्रतिरोधमा टेकेर लेखिएका छन् ।

कार्यक्रममा रितिका साहको लयात्मक उद्घोषण, छात्राहरूको गहकिला टिप्पणी र शिक्षकहरूको अनुभूतिपरक सहभागिताले समारोहलाई सिर्जनशील र आत्मीय बनायो । कक्षा ८, ९ र १० का झन्डै ९० जना विद्यार्थीहरू केवल दर्शक होइन, कार्यक्रमका संवेदनशील सहभागी बने । तिनका विमर्शले प्रमाणित गर्‍यो- अब साहित्य पाठ्यपुस्तकको पानाबाट बाहिर निस्केर अनुभूतिका पानाहरूमा प्रवेश गरिरहेको छ ।

‘शल्यक्रिया’भित्रका कथा केवल कथा होइनन्, समाजको गहिरो घाउको दृश्य परीक्षण हुन् । ती कथामा वर्गीय विभेद, मौनता, संरचनात्मक हिंसा, प्रतिरोध र पीडाका स्वर छरिएका छन् । वक्ताहरूले भनेझैँ, “यी कथा केवल घटना होइनन्, ती परिवर्तनको सम्भावना बोकेका चेतनाका स्वर हुन् ।”

किशोरी अञ्जली यादवले भनिन्, “हामीले आज पहिलोपटक लाग्यो कि किताब बोल्दोरहेछ, र त्यो बोली हाम्रो भाषामा सुन्न सकिने र महसुस गर्न सकिने रहेछ । हामी किताबसँग डराउने होइन, हातेमालो गर्ने ठाउँमा पुग्यौँ ।”

शिक्षा, समाज र साहित्यको त्रिसङ्गम बनाएको यो लोकार्पण कार्यक्रमले सङ्केत गर्‍यो- अब कथा किताबमा मात्र छैन, बालबालिकाको चेतनामा गुञ्जिन थालेको छ ।

‘शल्यक्रिया’ को यो सांस्कृतिक विमोचन केवल एउटा किताबको सार्वजनिक कार्यक्रम होइन, त्यो एउटा परिवर्तनशील पाठशालाको उद्घोष थियो, जहाँ पठन मात्र होइन, साक्षात्कार सुरु भएको छ ।
०००

   

You cannot copy content of this page