उदयपुर । उदयपुरमा डिजल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठ रहेका छन् ।
मंगलबार साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए । उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था जटिल देखिएपछि लगत्तै थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो।
उपचारको क्रममा बुधबार बिहान ६ः३० बजे चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका थिए ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

