कञ्चनरूप , २४ साउन । नेपालको मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायले सक्रियता देखाउन थालेका छ । युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो। जात्रा र विशेष अवसरमा नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन् ।
हराउँदै गएको लाखे नाचको संरक्षणमा सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रुपनगरमा रहेको नेवाः सांस्कृतिक समूह जुटेको छ ।
नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म हरेक दिन वडा क्षेत्रका बजार तथा गाउँ घरमा लाखे नाच देखाउन सुरु गरिएको नेवा समाजका अध्यक्ष कौशल श्रेष्ठले बताउनुभयो । ‘नेवार जातिको संस्कृति र पहिचानको रुपमा मनाइने जात्रा पर्वको हो,’ उहाँले भन्नुभयो ।
नेवार संस्कृति र परम्परा अनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नाग पञ्चमीबाट लाखे निकालिन्छ ।
सोही अवसरमा नेवा समाज रुपनगर सप्तरीले गाइजात्राको अवसरमा लाखे जूलूस प्रदर्शन गरेको छ ।
शनिबार नेवा गूठी भवन कञ्चनरुप १२ बस्तिपुरबाट निकालिएको लाखे जूलूस १२ नम्बर वडाको बिभिन्न भाग परिक्रमा गरिएको थियो ।
गाइजात्राको अवसरमा निकालिएको लाखे जूलूस सप्तरी जिल्लामै पहिलो पटक भएको जनाइएको छ ।
आफ्नो भेषभुसा , कला , संस्कृतिको जगेर्ना गर्न गाइजात्रा पर्वको शुरूवात गरिएको नेवा समाजका अमर श्रेष्ठले बताउनुभयो ।
गाइजात्राको अवसरमा निकालिएको लाखे जूलूस प्रत्येक घरघरमा गइ लाखे नृत्य प्रस्तुत गर्नुका साथै स्वइच्छाले एथासक्य दान समेत लिएको आयोजकले जानकारी दिए ।
आफ्नो संस्कृति र परम्परा लोप हुन नदिनका लागि लाखे जात्रा हरेक बर्ष प्रर्दशन गर्दै आएको यहाँका समुदायले बताउँछन् ।
लाखेनाँचमा लाखे हुने व्यक्तिले टाउकोमा विशेष प्रकारको राक्षसको आकृति झल्कने खप्पर टाउकोमा लगाईन्छ । यसरी लगाइने खप्पर पहिले काठको हुन्थ्यो, बर्तमानमा सिल्टी तथा पित्तलबाट बनाइएको हुन्छ । खप्परको शिरमा रङ्गी विरङ्गी ध्वजा सहित १२ देखि १५ सम्म चौरी गाईको पुच्छर (चमार) को प्रयोग गरिन्छ । शिरमा रङ्गीन फेटा (विरवल) बाँधिएको हुन्छ ।
शरीरमा त्रिशूल आकारको कपडा चोली, पटुका,रङ्गी बिरङगी जामा, फरिया लगाएको हुन्छ । गहनाका रुपमा तिघ्रामा,घँडामा,कम्मरमा,नाडीमा घाँघर लगाईएको हुन्छ । लाखेको दुवै हातमा रङ्गीन ध्वजा सहित रुमाल रहेको हुन्छ । लाखे नाच विशेष सुर ताल सहित नाच्ने गरिन्छ ।
यसरी लाखेनाच नाचिरहँदा लाखेलाई आर्थिक दान गर्दा पूण्य प्राप्त हुने जन विश्वास रहेको छ ।
लाखे नाच जात्रामा ढोल, झ्याम्टा बजाउँदै, नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गरिन्छ ।







