कञ्चनरूप, ६ भदौ । हिन्दु महिलाहरुको पवित्र पर्व तीजको अवसरमा सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित कारागारभित्र रहेका महिला कैदीबन्दीहरूलाई शुक्रबार सामूहिक रूपमा दर खुवाएर अधिकारकर्मीहरूले तीज मनाएका छन् ।
तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरूसँगै कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर तीज मनाएका हुन् ।
गत वर्ष झै कारागार पुगेको तीज महोत्सव मूल समारोह समितिका पदाधिकारीहरूले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तीजको खुशी साटासाट गरेको कारगार प्रमुख गंगालाल योगिले जानकारी दिनुभयो ।

कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको हो । उक्त अवसरमा कारगारमा कार्यरत महिला कर्मचारी र महिला प्रहरीलाई समेत मिठाई र सृङ्गारका सामान प्रदान गरिएको छ । अधिकारकर्मीहरूले कैदीबन्दीको समस्याका बारे जानकारी समेत लिएका छन् ।

