राजविराज, २१ भदौ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा तेस्रो सप्तरी महोत्सव २०८२ हुने भएको छ । सप्तरी उधोग वाणिज्य संघले आठ वर्षपछि महोत्सव आयोजना गर्ने भएको हो ।
शनिबार सप्तरी उधोग बाणिज्य संघले राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव बारे जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा असोज २२ गतेदेखि कार्तिक ०६ गतेसम्म १५ दिने सप्तरी महोत्सव आयोजना गरिने सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष आलूप्रसाद अग्रवालले बताउनुभयो । स्थानीय उत्पादनलाई प्रचारप्रसार गरि बजारीकरण गर्दै उधोग व्यवसायीलाई प्रोत्साहन र प्रबर्द्धन गर्ने महोत्सवको प्रमुख उदेश्य रहेको अग्रवालले बताउनुभयो ।
महोत्सवमा स्थानीय विभिन्न बस्तु तथा सेवाहरुको एकै ठाउँमा प्रदर्शनी गरि ग्राहकहरुसंग प्रत्यक्ष अन्तरक्रिया, स्थानीय कलाकार तथा कला संस्कृतिको प्रबर्द्धन गर्ने, पर्यटन, स्वास्थ्य शिक्षा क्षेत्रमा अवसरको खोजी जस्ता गतिविधि गरिने जनाएको छ ।
महोत्सवमा १ लाख ५० हजारबढी अवलोकनकर्ता आउने आकलन गरिएको छ भने कृषि उपज, थारु, मिथिला खाना,राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।
महोत्सवमा आउनेहरुका लागि १ सय प्रवेश शुल्क राखिएको छ । स्वयंसेवक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइएको छ ।
तेस्रो सप्तरी महोत्सव २०८२ को सह आयोजकमा जिल्लाका १८ वटै स्थानीय तहलाई राखिएको छ भने मिडिया पार्ट्नरमा नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई राखिएको छ ।
स्थानीय उत्पादनका लागि निशुल्क स्टल तथा १ सय ५० बढी स-शुल्क व्यापारीक स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा १ करोड ६८ लाखको कारोबार हुने अनुमान गरिएको छ ।

