कञ्चनरूप, २७ भदौ । सप्तरीमा कर्फ्युलाई निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार एक सूचना जारी गर्दै कर्फ्युको समय थपिएको जानकारी गराएको हो।
कर्फ्यु शुक्रबार विहान ८ बजेदेखि वेलुका ५ बजेसम्म र वेलुका ७ बजेदेखि भोली विहान ६ बजे सम्म लागू रहने जारी सूचनामा उल्लेख छ ।
जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुरक्षा सुनिश्चित गर्नका लागि चार किल्ला तोकी सो सीमाभित्र कसैले आवतजावत, जुलुस, सभा, बैठक वा कुनै प्रकारको प्रदर्शन गर्न नपाउने गरी कफ्र्यू लगाइएको छ ।
उत्तरमा उदयपुर जिल्ला, पूर्वमा सुनसरी जिल्ला, दक्षिणमा भारत सिमाना र पश्चिममा सिरहा जिल्लालाई सीमाना निर्धारण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनुभयो ।
उहाँले जनतालाई प्रशासनको निर्देशन अनुसार अनावश्यक आवतजावत नगर्न र नियम पालना गर्न आह्वान गर्नुभएको छ ।
प्रशासनले कर्फ्यु समयमा विशेष सतर्कता अपनाउने र सुरक्षा सुनिश्चित गर्न विभिन्न निकायमार्फत निगरानी राख्ने सूचनामा जनाइएको छ ।


