मधेस प्रदेश समाचार

नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण

राजविराज, ८ असोज  । सप्तरीको बोदे बर्साईन नगरपालिकामा आधुनिक सुबिधा सहित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बुधबार एक कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (आरईईडी परियोजना) आर्थिक करिडोर कार्यालय बर्दिवास, महोत्तरी मार्फत सो भवन निर्माण भएको हो ।

पालिकास्तरको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले गर्नुभएको छ । उक्त भवन आर्थिक करिडोर कार्यालय बर्दिवास महोत्तरीका कार्यालय प्रमुख राजेश साहले प्रमुख अतिथि एवम् नगरपालिकाका प्रमुख सिंहलाई हस्तान्तरण गर्नुभएको थियो । 

उक्त नवनिर्मित भवन २ करोड ७५ लाख ८७ हजार ३६ रुपैयाँ २१ पैसाको लागतमा बनेको जनाइएको छ । 

बोदे बर्साईन नगरपालिकाका पशु शाखा प्रमुख गिरिन्द्र यादवले पहिले साँघुरो र चुहिने भवनमा बस्दा सेवा दिन असहज हुने गरेको तर अब सुविधा सम्पन्न भवन पाएपछि किसानलाई सहज हुने बताउनुभयो । उहाँले माटो परीक्षण, बीउ उपचार, बाली उपचार लगायतका सेवा यही भवनबाटै उपलब्ध हुने समेत बताउनुभयो ।

पहिले परीक्षणका लागि बाहिर जानुपर्थ्यो, समय र पैसा दुवै खर्चिनुपर्थ्यो, अब नगरपालिकामा सुविधा पाइने भएपछि स्थानीय कृषकलाई ठूलो राहत भएको छ ।

कार्यक्रम राजेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उप-प्रमुख रेणु कुमारी साह , वडा अध्यक्षहरू राज कुमार यादव , शिव नारायण यादव , किरण साह , रबिन्द्र कुमार साह , बैजनाथ चौधरी , सुनित कुमार यादव , मो मोजिबुर रहमान , स्थानीय कर्मचारी, समाजसेवी तथा स्थानीयवासी लगायतहरूको उपस्थिति रहेको थियो ।

   

You cannot copy content of this page