उत्सव आचार्य
कञ्चनरूप, १९ असोज । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ ।
आइतबार बिहान १०:३० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ३१ हजार ५२५ क्यूसेक भइरहेको कोशी व्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
पानीको बहाब लगातार बढ्दै जाँदा कोशी व्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ती बालिएको छ ।
कोशी ब्यारेज भएर १ लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ ।
त्यस्तै जल तथा मौसम विभागले विहान ८ बजे सुनसरी चतरा स्थित कोशी नदीमा बाढीले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेकोले खोला किनार र डुबान भइरहने होचो ठाँउका बासिन्दा भोली बिहान सम्मै उच्च सतर्कताका साथ सुरक्षित ठाँउमा रहनुहुन / जानुहुन अनुरोध गरेको छ ।

