कञ्चनरूप, २३ कार्तिक । सप्तरीमा लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.०४ कनकपुर टोल बस्ने वर्ष २५ को अमिर कान्त चौधरी र सोही ठाउँ बस्ने वर्ष २४ को दिपक कुमार चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ ।
सुरुङ्गा नगरपालिका वडा नं.०४ कनकपुर चौक स्थित इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएका प्रहरी गस्ती टोलीले कदमाहा देखी भेडिया तर्फ आउँदै गरेको दुई जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले शंका लागी नियन्त्रणमा लिई सोधपुछ गरी शरिर चेकजाँच गर्दा दिपक कुमारले बोकेको कालो रंगको पलाष्टिकको झोला खोली हेर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने पलाष्टिक सहित ०.२८० मिलिग्राम र प्लाष्टिक बाहेकको ०.७० मिलिग्राम पदार्थको तीन वटा पुरिया फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरीक्षक प्रमोद कुमार साहले जानकारी दिनुभयो ।
दुबै जनालाई नियन्त्रणमा लिई सम्मानित सप्तरी जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक साहले बताउनुभयो ।











