मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

बुढीगंगामा ३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको अभियान शुभारम्भ

विराटनगर, ९ मंसिर । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित मंसिर ९ गते मंगलबार बुढीगंगा गाउँपालिकामा ३४ औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको दिवस शुभारम्भ भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा बुढीगंगा गाउँपालिकामा कोणसभासहित ३४ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको अभियान शुभारम्भ भएको हो । 

एकआपसमा सेतो रिबन लगाएर आरम्भ भएको कोणसभामा बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले लैङ्गिक हिंसा दण्डनीय भएको र कानुनी उपचारको व्यवस्था भएकोले घर, समाजमा हुने कुनै पनि प्रकारका हिंसा सहेर नबस्न आग्रह गर्नुभयो । 

लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउन लैङ्गिक उत्तरदायी बजेट तथा सामाजिक समावेशीमैत्री स्थानीय शासन प्रवद्र्धन गर्न गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष मगरले बताउनु भयो । 

इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालको रुपमा स्थापित नगरेसम्म दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने दावी गर्नुभयो ।

लैङ्गिक हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको ऐतिहासिक पक्षबारे जानकारी दिनुहुँदै प्रदेश संयोजक पोखरेलले हिंसाविरुद्ध व्यापक जनचेतना जगाउन, समस्याको पहिचान गरी समाधान खोज्न र लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकारको अनुगमन, अभिलेखीकरण र प्रसारका साथै इन्सेकले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत पैरवी र न्यायका लागि पहलकदमी, सचेतनात्मक कार्यक्रम, संस्थागत जवाफदेहिता अभिवृद्धि तथा सुशासन सुनुश्चितताका लागि सामाजिक परिचालन गर्दै आएको उहाँले जानकारी  दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदारको अध्यक्षता र महिला, बालबालिका शाखा प्रमुख निश्चलता कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलराज थापा मगर, इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बास्कोटालगायत जनप्रतिनिधि, कर्मचारी, महिला स्वयमसेविका, प्रहरी, आमा समूह, शिक्षक, नागरिक समाजको सहभागिता रहेको थियो ।  

सन् १९६० मा डोमिनिकन गणराज्यको तत्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन दिदीबहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने हिंसाको रुपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । 

‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० का बीचमा पर्ने अन्य महत्वपूर्ण दिवसलाई १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page