समाचार • समाज

बाँकेको कपासीमा भीषण आगलागी, सात घर जलेर नष्ट

बाँके, ५ कात्तिक । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन।

प्राप्त विवरणअनुसार, बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर नियन्त्रण तथा उद्धार कार्यमा जुटेको थियो।

आगो नियन्त्रणमा लिन कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाबाट दमकल परिचालन गरिएको थियो। दुवै दमकलको सहयोगमा दिउँसो करिब ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो।

आगलागीबाट स्थानीय साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्णरूपमा जलेका छन्। त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घरसमेत जलेर नष्ट भएका छन्। महेश खानको पक्की घरको एउटा झ्यालमा पनि आगलागीका कारण क्षति पुगेको छ।

आगलागीबाट भएको अन्य भौतिक क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

You cannot copy content of this page