समाचार

सप्तरीको नेपाल-भारत सिमानाकामा कडाइ, विदेशी नागरिकको आवतजावतम निगरानी

कञ्चनरूप, १८ मंसिर । खुल्ला सीमा नाकाको फाइदा उठाउँदै विदेशी नागरिक नेपाल प्रवेश गर्न थालेपछि सप्तरीका सीमा नाकाहरूमा कडाइ गरिइएको छ । 

भारत हुँदै अवैध रुपमा नेपाल आउने विदेशी मानिसहरू नेपालमा गैरकानुनी रुपमा प्रवेश गरिरहेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै जिल्लाका सबै सीमा नाकाहरूमा सुरक्षाकर्मीको चेकजाँच र निगरानी बढाइएको हो । 

हाल सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्तिहरू अवैध ढङ्गबाट सप्तरी जिल्लामा प्रवेश गर्न सक्ने हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत युगेश कुमार यादवले जारी गरिएको सूचनामा उल्लेख छ ।

कोही पनि शङ्कास्पद व्यक्ति जिल्लाभित्र प्रवेश गरेको अवस्थामा त्यस्ता व्यक्तिको सम्बन्धमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ । 

साथै त्यस्ता परिचय नखुलेका अपरिचित व्यक्ति, समुदायलाई घरमा बसोबास गर्न नदिन, कुनै कामकाजमा नलगाउनु हुन समेत जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सर्वसाधारणमा अनुरोध गरिएको जारी सूचनामा उल्लेख छ ।

मधेस प्रदेशका ८ जिल्लाहरूमा शङ्कास्पद व्यक्तिहरूलाई रोकेर सोधपुछ गरेर मात्र नेपाल छिर्न दिइएको छ ।

   

You cannot copy content of this page