कोशी प्रदेश समाचार

मासिक रूपमा हुने महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले बुझ्नु पर्ने

बिराटनगर, २२ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको आयोजनामा सोमबार मोरङको बुढीगंगा गाउँपालिका–६ मा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा मर्यादित महिनावारी मानव अधिकारको आधार भएकाले सबैखाले भेदभावको अन्तको आव्हान गर्दै कार्यक्रम गरिएको हो ।

महिला अधिकार, किशोरी शिक्षा, अन्तरपुस्तागत न्याय विषयमा आयोजित अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहर पोखरेल र मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटाले सहजीकरण गर्नुभयो ।

यौन र लैङ्गिक हिंसाको रूपमा हुने भेदभावलाई व्याख्या गर्दै इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले विज्ञानले स्वीकार गरी परिभाषित गरेको महिनावारी जीवनको प्राकृतिक तथ्य र सृष्टिको कारक भएकोले मासिक रूपमा हुने महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले बुझ्नु पर्ने र व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटाले लैङ्गिक विभेद र कानूनी शासनको चर्चा गर्नुहुँदै बालविवाह, दाईजोप्रथा, बहुविवाह, जातीय भेदभाव, भ्रुण हत्यालगायत हिंसाको शिकारबाट समाजको विकास अवरुद्ध भएकोले सजग र सुरक्षित समाज निर्माणका लागि जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छेदारले हिंसा न्युनिकरणका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु ल्याएकोले महिलाहरुले हिंसा विरुद्ध आवाज उठाउने साहस देखाउन र आफू तथा अन्यको सुरक्षामा योगदान पु¥याउन अपील गर्नुभयो ।

बुढीगंगा गाउँपालिकाकी महिला, बालबालिका शाखा प्रमुख निश्चलता कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न शाखाका प्रमुख, आमा समूह र किशोरीहरुको सहभागिता रहेको थियो ।

इन्सेक कोशी प्रदेश कार्यालय

   

You cannot copy content of this page