समाचार

कानको गहनाका लागि आफ्नै हजुरआमाको हत्या, २२ वर्षीय नाति पक्राउ  

कास्की, ४ पुस । कास्कीको पोखरा महानगरपालिका ३१ बाँसपानीमा कानको गहनाका लागि आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

बिहीबार १२:२० बजेको समयमा पोखरा-३१ बाँसपानी बस्ने वर्ष ७५ की दाल कुमारी परिवारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा निजकै २२ वर्षीय नाती आशिष परिवार पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । 

दाल कुमारीको कान समेत काटी कानमा लगाएको गरगहना लुटी आशिष फरार रहेका थिए । 

जिल्ला प्रहरी कार्यालय कास्की र मातहत इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोक स्थितबाट सुनका गरगहना सहित आशिषलाई पक्राउ गरेको हो । 

उनको साथबाट प्रहरीले सुनजस्तो देखिने पँहेलो रङको कानमा लगाउने रिङ थान-२, सानो मुन्द्राहरु थान-४, (डिजिटल तराजुमा तौल गर्दा ७२ लाल), घटनामा प्रयोग भएको बन्बरो धान-१, चक्कु थान-१ बरामद गरेको छ । 

पक्राउ परेका युवकलाई सम्मानित कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात (७) दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

   

You cannot copy content of this page