कञ्चनरुप, १३ पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले जाडो बढ्न थालेपछि पाँच दिनका लागि विद्यालय बिदा दिएको छ । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि डाक्नेश्वरी नगरपालिकाले विद्यालय बिदा दिने निर्णय गरेको हो ।
पालिकाले आईतबार एक सूचना जारी गर्दै बढ्दो जाडोको कारणबाट विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै पुष १४ गतेदेखि १८ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी ५ (पाँच) दिनका लागि विद्यालय विदा दिएको जनाएको छ।
सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन सम्बन्धी कार्य नगर्न नगराउन सम्पूर्ण विद्यालयलाई सूचना मार्फत जानकारी गराइएको छ ।
सप्तरी सहित तराई–मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ । अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।













