विराटनगर, १३ पुस । प्रहरीले विराटनगरबाट एक जनालाई श्रोत नखुलेको ६ लाख रूपैयाँसहित पक्राउ गरेको छ । विराटनगर–६ का ४९ वर्षीय अरविन्द अग्रवाललाई स्रोत नखुलेको ६ लाख रूपैयाँसहित आइतबार प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका वडा नं १५ स्थित सुनसरी ट्रेडिङ् सेन्टर अगाडीको सडकमा इलाका प्रहरी कार्यालय, रानी र इलाका प्रहरी कार्यालय, रानी (सिमा) बाट खटिएको सयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश नं १-०४-००१ च ०१६४ नं को सेतो रङगको कार रोकी चेकजाँच गर्ने क्रमममा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।
अग्रवालको साथबाट स्रोत नखुलेको १ हजार दरका ४ सय थान, ५ सय दरका ३ सय ६० थान र १ सय दरका २ सय थान गरी जम्मा ६ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय विराटनगर, मोरङले जनाएको छ ।
बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुन सक्ने प्रहरीको अनुमान छ । अग्रवाल, उनी सवार कार र बरामद गरिएको नगदमाथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।













