राजविराज, २१ पुष । कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट विजय साहुको मृत्यु भएको घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन गरेको छ । पुस १७ देखि २१ गतेसम्म इन्सेक कोशी प्रदेश कार्यालयले स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन गरेको हो ।
पीडित परिवार, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अन्य सुरक्षाकर्मीहरू, छानविन समिति, मृतकका आफन्त, जनप्रतिनिधि र नागरिक समाजका सदस्यहरूसँग भेटघाट तथा छलफल गरी अनुगमन टोलीले घटनाको तथ्य सङ्कलनसहित स्थलगत अवलोकन, अनुगमन गरेको छ ।
सशस्त्र प्रहरीको गोली लागेर ०८२ पुस १७ गते बिहान १ बजे ५० वर्षीय विजय साहुको घटनास्थलमै मृत्यु भएको थियो ।
इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेल नेतृत्वको अनुगमन टोलीले मृतकका पत्नी, छोरा, दाजु, दिदीहरुसहित जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी केशवकुमार थेवे, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण मुख्यालयका सशस्त्र एसपी निर्मलकुमार थापा, डिएसपी सीताराम पौडेल, सशस्त्र प्रहरी बल नपाल बोर्डर आउट पोष्ट लौकहीका इन्स्पेक्टरहरु भुपबहादुर खड्का, देबराज भट्टराई, जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिसहितसँग भेटेर घटनाका विषयमा तथ्य सङ्कलन गरेको हो ।

गोली प्रहार घटनाका आरोपित सशस्त्र प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र उनका सहयोगी सशस्त्र प्रहरीलाई समेत सोधपुछ गरिने जिल्ला प्रहरी कार्यालयका एसपी थेवेले अनुगमन टोलीलाई बताउनु भयो ।
मृतककी पत्नी गीतादेबी साहले न्याय पाउने गरी जिल्ला प्रशासन कार्यालयमा पुष १७ गते सहमति जुटेको र सोही अनुसार सहमति कार्यान्वयन हुने एसपी थेवेले अनुगमन टोलीलाई बताउनु भयो ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको र सोही समितिले सात दिनभित्र घटनाको वास्तविकता सार्वजनिक गर्ने एसपी थेबेले अनुगमन टोली समक्ष बताउनु भयो । उहाँले घटनाका विषयमा जानकारी दिनुहुँदै उत्पन्न तनावपछि प्रदर्शनकारीको भिड नियन्त्रण गर्न नेपाल प्रहरीले करिब दुई सय सेल अश्रुग्यास र हवाइ फायर गरेको बताउनु भयो ।
गोली प्रहारले मृत्युको घटनापछि आक्रोशित प्रदर्शनकारीहरुले दुई ओटा अस्थायी पोष्ट जलाएपछि विओपी कार्यालय लौकहीमा ढुङ्गा र पेट्रोल बमले आक्रमण गर्दा सशस्त्र प्रहरी सहायक निरीक्षकसहित १२ जना घाइते भएको र तीन ओटा सवारी साधनमा सिसा फुटेर क्षति पुगेको सशस्त्र एसपी थापाले जानकारी दिनुभयो ।

चिनी तस्करी गरिरहेको बेला विजय साहुलाई नियन्त्रणको प्रयास गर्दा चलेको गोली लागेर मृत्यु भएको सशस्त्र प्रहरीका एसपी निर्मलकुमार थापाले अनुगमन टोलीलाई बताउनु भयो । सशस्त्र डिएसपी पौडेलका अनुसार लौकहीमा छोटी भन्सार कार्यालय मात्र रहेकोले पाँच हजार रुपियाँसम्मको मात्रै भन्सार काट्न मिल्छ । नियमित गस्ती गर्दै गरेको अवस्थामा रातिको समयमा विजय साहुले सो भन्दा माथिको तस्करी गरेकाले नियन्त्रणको प्रयास गर्दा दुखद घटना भएको बताउनु भयो ।
मृतकका दाजु रामचन्द्र साहले राति १ बजे चार पटक गोली चलेको आवाज सुन्दा पटका पड्केको ठानेको तर केहीबेरमै छिमेकीले फोन गरी घटनाको जानकारी गराएपछि घटनास्थल पुगेको बताउनु भयो । घटनास्थल पुग्दा विजयको शव सिटी सफारीको चालक बस्ने सिटमा ढल्किएको अवस्थामा रहेको र आरोपित सशस्त्र प्रहरी हवल्दार नवराज खतिवडाले घटनाबारे फोनबाट साथीलाई जानकारी गराएर परालमा छटपटाइरहेको देखेको बताउनु भयो । अनुगमन टोलीले घटनास्थलकै छेउछाउका घरका मानिसहरुसँग विस्तृत जानकारी लिएको छ ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेल नेतृत्वको अनुगमन टोलीमा मानव अधिकार रक्षक सञ्जाल कोशीका संयोजक देवी बास्कोटा, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव, अधिकारकर्मी चुन्नी खातुन, पत्रकारहरु अनिल श्रेष्ठ र पवन रौनियारको टोलीले घटनामा विषयमा स्थलगत अनुगमन र तथ्य सङ्कलन गरेको जनाइएको छ ।













