कोशी प्रदेश समाचार

बिराटनगरमा स्रोत नखुलेको ४ लाख नगदसहित एक युवक पक्राउ

बिराटनगर, २१ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ४ लाख नेपाली नगद रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो अन्दाजी १ः४५ बजेको समयमा मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट विराटनगरतर्फ आउँदै गरेको एक मोटरसाइकल चेकजाँचका क्रममा ३ लाख ९९ हजार ९ सय ५० नगद रकम फेला पारेको हो ।
भारत–नेपाल सीमा क्षेत्र जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको प्र १–०२–०४२ प २५८५ नम्बरको मोटरसाइकललाई विराटनगर महानगरपालिका–१३ स्थित दिव्यज्योति आँखा अस्पताल अगाडिको सडकमा रोकी जाँच गर्दा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१० बस्ने वर्ष ३९ का उमेश साहले लगाएको हेल्मेट र शरीरका विभिन्न भागमा लुकाइछिपाइ राखिएको स्रोत नखुलेको नेपाली नगद रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिनुभयो ।
बरामद नगदमा १ हजार दरका ३० थान, ५ सय दरका ५३६ थान, १ सय दरका १०११ थान र ५० दरका १ थान गरी जम्मा ३ लाख ९९ हजार ९५० रुपैयाँ रहेको छ ।
नगद रकम, मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

   

You cannot copy content of this page