समाचार

सप्तरीमा २ लाखभन्दा बढी मूल्यको अवैध किराना सामान बरामद

कञ्चनरुप, २१ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको करिब २ लाखभन्दा बढी मूल्यको अवैधको किराना सामान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
राजविराज नगरपालिका–६ वागेश्वरी मन्दिर स्थितमा नियमित चेकजाँचका क्रममा भारतबाट चोरी निकासी गरी स १ त ८५८२ नम्बरको नेपाली मोटरसाइकल र बिआर ३२ के ३५३ नम्बरको भारतीय मोटरसाइकलमा बोरामा राखेर सामान ल्याइँदै गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
प्रहरीले चेकजाँच गर्न खोज्दा मोटरसाइकल चालकहरूले सवारी साधन छाडेर फरार भएको बताइएको छ । त्यसपछि प्रहरीले मोटरसाइकलमा राखिएका बोरा खोलेर जाँच गर्दा विभिन्न किसिमका किराना सामान फेला परेका थिए । प्रारम्भिक मूल्याङ्कन गर्दा सामानको मूल्य २ लाख ३ हजार ७ सय रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ ।
नियन्त्रणमा लिइएका दुवै मोटरसाइकल तथा किराना सामान सोमबार भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । फरार चालकहरूको खोजी तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

   

You cannot copy content of this page