समाचार समाज

सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका चार फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, २२ पुस — सप्तरी जिल्लामा विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला भई लामो समयदेखि फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।

 सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट फैसला भइसकेका तर कार्यान्वयन हुन बाँकी रहेका मुद्दाहरूमा फैसला कार्यान्वयन अभियान तीव्र पार्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका इलाका प्रहरी कार्यालयहरूबाट खटिएको विशेष प्रहरी टोलीले खोजी अभियान सञ्चालन गरी फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका सबै व्यक्ति सप्तरी जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका बासिन्दा रहेका छन्।

पक्राउ पर्ने प्रतिवादीमध्ये सप्तरी राजगढ गाउँपालिका वडा नं. ०४ निवासी शिवनारायण साह ठगी मुद्दामा दोषी ठहर भई २ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको फैसला पाएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो। त्यसैगरी सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. ८ निवासी प्रदिप कार्की सवारी ज्यान मुद्दामा १ वर्ष ९ महिना १८ दिन कैद सजाय तोकिएपछि फरार रहेका थिए। उनलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसै क्रममा रुपनी गाउँपालिका वडा नं. ५ निवासी भोला यादव कुटपिट तथा लुटपाट मुद्दामा ६०४ रुपैयाँ १७ पैसा जरिवाना र सोही स्थानका भोलाई यादव कुटपिट मुद्दामा १०० रुपैयाँ जरिवानाको फैसला भई फरार रहेका अवस्थामा पक्राउ परेका छन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले आगामी दिनमा पनि फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार प्रतिवादीहरूको खोजी अभियान निरन्तर जारी रहने जनाएको छ।

   

You cannot copy content of this page