सिरहा, २३ पुस । सिरहाको नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले परालभित्र लुकाएर राखिएको अवस्थामा ४१ किलो ५०० ग्राम गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म इनर्वाबाट खटिएको टोलीले नवराजपुर गाउँपालिका–१ स्थित तमासुईया गाउँको एक खेतमा लुकाएर राखिएको गाँजा बरामद गरेको जनाएको छ । खेतमा रहेको परालको कुनिउभित्र दुई वटा बोरामा लुकाई छिपाई राखिएको अवस्थामा गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बलका डीएसपी नरेश कुमार खड्काको नेतृत्वमा रहेको टोलीको निर्देशनमा सशस्त्र प्रहरी नायब निरीक्षक राम अयोध्या महतोको कमाण्डमा ७ जनाको गस्ती टोलीले शंकास्पद गतिविधि देखिएपछि खानतलासी गर्दा उक्त अवैध लागुऔषध बरामद गरेको हो ।
बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको समेत प्रहरीले बताएको छ ।












