सप्तरी, २४ पुस । सरकारले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुलाएको छ। यही २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा निर्वाचन प्रहरी माग गरेको हो।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गतको भर्ना छनोट शाखाले सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक रहेको जनाएको छ। निर्वाचनको शान्ति–सुरक्षा, मतदान केन्द्रको व्यवस्थापन तथा मतदाताको सुरक्षित सहभागिता सुनिश्चित गर्नका लागि यी प्रहरी परिचालन गरिनेछ।
सूचना अनुसार भर्नाका लागि पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ। आवेदन दिने क्रममा सार्वजनिक बिदाका दिनमा समेत दर्खास्त लिइने व्यवस्था गरिएको छ। इच्छुक तथा योग्य नेपाली नागरिकले तोकिएको मिति भित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। भर्नासम्बन्धी विस्तृत जानकारी प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित प्रहरी कार्यालयबाट प्राप्त गर्न सकिनेछ।












