समाचार समाज

कञ्चनरूपमा बेवारिसे अवस्थामा नवजात शिशु फेला, उपचार जारी

कञ्चनरूप, २६ पुस । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ धरमपुरमा शुक्रबार साँझ बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। साँझ करिब ७ः३० बजेको समयमा एक–दुई दिनकी नवजात बालिका रोइरहेको अवस्थामा भेटिएकी हुन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधवप्रसाद काफ्लेका अनुसार स्थानीय मोहन खड्काको घरदेखि करिब ३० मिटर उत्तरतर्फ रहेको शौचालयको दाहिनेपट्टि कपडामा बेरेर छाडिएको अवस्थामा शिशु फेला परेकी थिइन्। शिशुको सालनाल काटिएको, डाइपर लगाइएको तथा सामान्य कपडामा बेरेर राखिएको देखिएपछि स्थानीयवासीले तत्काल उद्धार गरेका थिए।

स्थानीयको सूचनापछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पूरा गरेको थियो। उद्धारपछि शिशुलाई उपचारका लागि कञ्चनरूपस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर प्रारम्भिक उपचारपछि पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको डिएसपी काफ्लेले जानकारी दिनुभयो।

हाल नवजात शिशु चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको र स्वास्थ्य अवस्था स्थिर हुँदै गएको बताइएको छ। शिशुको आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रहरीले शिशुलाई कसले र किन बेवारिसे अवस्थामा छाड्यो भन्ने विषयमा अनुसन्धान थालेको छ। घटनासँग सम्बन्धित व्यक्तिको पहिचानका लागि स्थानीयस्तरमा सोधपुछ भइरहेको तथा अन्य प्रमाण संकलन गरिँदै गएको प्रहरीले जनाएको छ। साथै, यस्ता अमानवीय घटनाप्रति सचेत रहन र कुनै जानकारी भएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।

   

You cannot copy content of this page