राजविराज, २६ पुस । पूर्व उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित आफ्नै निवासमा शनिबार बिहान ११ बजे ८५ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा थारु मुक्ति मोर्चाका अध्यक्षसमेत रहनुभएका चौधरीको अचानक निधन भएको पार्टीका केन्द्रीय उपमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनबाट उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा उहाँ उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।
पूर्वमन्त्री चौधरीको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्।











