कोशी प्रदेश समाचार

एम्बुलेन्सभित्र लुकाएर गाँजा ओसारपसार, ४५९ किलो नियन्त्रणमा

बिराटनगर, २८ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट ठूलो परिमाणको लागुऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राति करिब ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले भेडेटार नजिक सडक छेउमा शंकास्पद अवस्थामा पार्क गरिएको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा एम्बुलेन्सभित्र प्लास्टिकको पोका बनाएर राखिएको ४ सय ५९ किलो ९६५ ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार गाँजा ओसारपसारका लागि एम्बुलेन्स प्रयोग गरिएको आशंका गरिएको छ । एम्बुलेन्स चालक तथा संलग्न व्यक्ति भने फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । 

बरामद गरिएको गाँजा, एम्बुलेन्स तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

   

You cannot copy content of this page