समाचार

सप्तरीमा लागूऔषध सहित दुई जना पक्राउ

कञ्चनरूप, २८ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागू औषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार आइतबार सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहा- गाईघाट सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ आउँदै गरेको स ४ प ७७२३ नम्बरको मोटरसाइकल शंकास्पद देखिएपछि रोकिएको थियो ।

चेकजाँचका क्रममा पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ७ बस्ने बर्ष २२ को पारसमणी चौधरी र सोही ठाउँका २० बर्षिय विनम चौधरी थारु रहेका छन्  । 

मोटरसाइकल चालक र पछाडि सवार रहेका दुई जना युवकको शरीर तथा साथमा रहेको झोलाबाट ठूलो परिमाणमा लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।  

उनीहरूको साथबाट Diazepam Injection 2 ml का १८ एम्पुल, Phenergan 2 ml का १९ एम्पुल र Buprenorphine Injection 2 ml का १८ एम्पुल बरामद गरिएको छ ।

त्यसैगरी लागू औषध ओसारपसारमा प्रयोग गरिएको एक थान मोटरसाइकल र एक थान मोबाइल फोनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

बरामद सामग्री र पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय करोडबोनाको हिरासतमा राखी सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले लागू औषधको अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणका लागि जिल्लाका विभिन्न नाकाहरूमा नियमित चेकजाँच र निगरानीलाई थप कडा बनाइएको जनाएको छ। 

लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या भएकाले यसविरुद्ध प्रहरीको अभियान निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

   

You cannot copy content of this page