समाचार

शम्भुनाथ नगरपालिकामा करार तथा ज्यालादारी कर्मचारी हटाइए

राजविराज, ३० पुस । सप्तरीको शम्भुनाथ नगरपालिकामा करार सेवा तथा ज्यालादारीमा कामकाज गर्दै आएका कर्मचारीलाई हटाइएको छ ।

 नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सबै शाखा तथा वडा कार्यालयमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई हाजिर नहुन/नगराउन निर्देशन दिएको हो।

कार्यबाहक नगरप्रमुख अनिता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत दिपेश कुमार झाद्वारा संयुक्त हस्ताक्षरित सूचनामा अर्को निर्णय नआएसम्म करार सेवा म्याद थप नहुने स्पष्ट गरिएको छ। नगर कार्यपालिकाको पुस ३० गतेको निर्णयअनुसार नगरपालिका अन्तर्गतका सबै विषयगत शाखा र वडा कार्यालयमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई हाजिर नगर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ।

नगरपालिकाका अनुसार अत्यावश्यक सेवा प्रदान गर्ने निकायहरूमा भने सेवा निरन्तर रहनेछ। यस निर्णयले कार्यालय सञ्चालन, सेवा प्रवाह तथा स्थानीय प्रशासनिक व्यवस्थामा असर पर्ने देखिएको छ।

यसअघि नै नेपाल सरकारले करार सेवा तथा ज्यालादारीमा कामकाज गर्दै आएका कर्मचारी हटाउने सम्बन्धमा देशभरका स्थानीय तहलाई परिपत्र गरिसकेको थियो। सोही निर्देशनको कार्यान्वयनस्वरूप शम्भुनाथ नगरपालिकाले उक्त निर्णय गरेको जनाइएको छ।

नगरपालिकाले यस विषयमा अर्को निर्णय नआएसम्म सबै सम्बन्धित पक्षलाई सूचनाअनुसार सहयोग गर्न आग्रह गरेको छ ।

   

You cannot copy content of this page