सिन्धुली, ३० पुस । काभ्रेको बनेपाबाट आएको नकाबधारी समूहले सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा लुटपाट गरी फरार भएका छन्। मंगलबार साँझ करिब ७ बजे बैंकमा प्रवेश गरेका नकाबधारीहरूले सुरक्षागार्डमाथि कुटपिट गरी सेफमा राखिएको ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घटनापछि तत्कालै खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बैंक नजिकैको जंगल क्षेत्रबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको छ। लुटपाटमा प्रयोग गरिएको टाटा सुमो गाडी र सो गाडीका चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
फरार लुटेरा समूहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।













