काठमाडौँ । पूर्व सांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार सार्वजनिक गरिएको स्ट्याटसमा उनले रास्वपामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको जानकारी दिएका हुन्।
सिंहले यही माघ ५ गते जनकपुरधाममा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने बताएका छन्। उनले जनकपुरधामलाई जगत जननी माता सीताको जन्मस्थलको रूपमा उल्लेख गर्दै त्यही पवित्र भूमिबाट आफ्नो नयाँ राजनीतिक यात्राको थालनी गर्न लागेको स्पष्ट पारेका छन्।
फेसबुक स्ट्याटसमा सिंहले देश र मधेसमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो संघर्ष अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “देश र मधेसमा रहेको भ्रष्टाचार र कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ,” उनले लेखेका छन्।
यसअघि स्वतन्त्र हैसियतमा राजनीति गर्दै आएका सिंह विभिन्न समयमा भ्रष्टाचार, सुशासन र मधेसका मुद्दामा खुलेर धारणा राख्दै आएका थिए।


















