समाचार

सरदार जातिको संस्कृति र चाडपर्वको संरक्षण तथा विकासका लागि आफू प्रतिबद्ध : मन्त्री यादव

कञ्चनरूप, २ माघ । मधेस प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादवले संघीयता खारेज गर्ने उद्देश्यले उदाएका नयाँ शक्तिहरूले दलित, मधेसी, थारू तथा अल्पसंख्यक समुदायका अधिकार खोस्न खोजिरहेको आरोप लगाएका छन्। उनले संघीयताको संरक्षणका लागि सबै समुदाय सचेत र एकजुट हुन आवश्यक रहेको बताए।
शुक्रबार कञ्चनरूप नगरपालिका–४ स्थित कवलियासा गैंडसिंह बाबाको प्राङ्गणमा राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रद्वारा आयोजित ९औँ माघी तिला सङ्क्रान्ति महोत्सव २०८२ (माघ १ र २ गते) को समापन समारोहमा बोल्दै मन्त्री यादवले संघीयताका कारण तीन तहको सरकारमार्फत दलित, मधेसी, थारू र अल्पसंख्यक समुदायले आफ्ना अधिकार प्राप्त गर्दै काम गर्ने अवसर पाएको उल्लेख गरे। “संघीयता यी समुदायका लागि अत्यन्त आवश्यक छ, यसको संरक्षण सबै मिलेर गर्नुपर्छ,” उनले भने।


मन्त्री यादवले सरदार जातिको धर्म, संस्कृति र चाडपर्वको संरक्षण तथा विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै जातीय मुक्ति आन्दोलन बिना अधिकार प्राप्ति सम्भव नहुने धारणा राखे। शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्था कमजोर रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि काम सुरु गरिसकेको जानकारी पनि उनले दिए।
कार्यक्रममा दलित सरोकार मञ्चका निर्देशक तथा अवलोकन दैनिक का सम्पादक भोला पासवानले लोक संस्कृतिको संरक्षणमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको बताए। सबै जातजाति, भाषा र संस्कृतिको संरक्षण भए मात्र राष्ट्र सुदृढ हुने उनको भनाइ थियो। राज्यस्तरमा सरदार जातिको पक्षमा बोल्ने प्रतिनिधि नहुँदा समुदाय पछाडि परेको उनले उल्लेख गरे।


कार्यक्रममा राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रकी केन्द्रीय उपाध्यक्ष रञ्जना सरदार, वडा नं. ४ का अध्यक्ष जोगेन्द्र पासवानलगायतले शुभकामना मन्तव्य व्यक्त गरे। सो अवसरमा मन्त्री यादव र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेलाई मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरियो। साथै सरदार जातिमा पहिलो एमबीबीएस उत्तीर्ण डा. अर्जुन सरदारलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
महोत्सवमा परम्परागत भेषभूषासहित महिलाहरूको कलश यात्रा, सांस्कृतिक नृत्य, गीतसंगीत तथा जातीय झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रम राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्र कञ्चनरूप नगर सभापति राजेश सरदारको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन केन्द्रीय सभापति श्यामसुन्दर सरदारले गरेका थिए।

   

You cannot copy content of this page