समाचार

सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, ०३ पुस । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सप्तरी प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चेक अनादर, लेनदेन, बहुविवाह तथा कुटपिट मुद्दामा सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई शुक्रबार विशेष खोजतलास अभियानमार्फत नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा लेनदेन (विगो) मुद्दामा एक वर्ष कैद सजाय तोकिएका राजविराज नगरपालिका–७ का सरिता झा, बहुविवाह मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तोकिएकी शम्भुनाथ नगरपालिका–१२ की बबिता कुमारी चौधरी तथा चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना तोकिएका महादेवा गाउँपालिका–३ का रमेश कुमार यादव रहेका छन् ।

त्यस्तै, कुटपिट मुद्दामा दोषी ठहर भई जरिवाना सजाय तोकिएका राजविराज नगरपालिका–७ का भदी साहु तेली, देव नारायण साहु, प्रमानन्द साह तेली तथा रुपनी गाउँपालिका–२ का मुक्तिलाल साह र मौजेलाल साह पनि पक्राउ परेका छन्। उनीहरूलाई एक सय छयानब्बेदेखि ८३ रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

पक्राउ परेका सबै प्रतिवादीलाई शुक्रबार नै जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । 

प्रहरीले आगामी दिनमा पनि फरार प्रतिवादीविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ ।

   

You cannot copy content of this page