समाचार समाज

सितापुरबाट हराएका १३ वर्षीय बालक तीन दिनपछि इनरुवामा भेटिए

कञ्चनरूप, ३ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका–७ स्थित सितापुरबाट हराएका १३ वर्षीय बालक तीन दिनपछि सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा सकुशल फेला परेका छन् ।

स्थानीय जिवछ महतोका छोरा कृष्ण मेहता गत मङ्गलबार घरबाट अचानक सम्पर्कविहीन भएका थिए । बालक बेपत्ता भएपछि परिवारजन मात्र होइन, स्थानीयवासीसमेत चिन्तित बनेका थिए भने खोजी कार्य तीव्र पारिएको थियो ।

खोजतलासका क्रममा कृष्ण इनरुवा नगरपालिका–४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ रहेको आर.एन. डिपार्टमेन्ट स्टोरमा फेला परेका हुन् । ‘आवर सुनसरी खबर’लाई प्राप्त सूचनाका आधारमा उक्त स्थानमा पुग्दा बालक त्यहीँ लुकेर काम गरिरहेको अवस्थामा भेटिएको जनाइएको छ ।

डिपार्टमेन्ट स्टोरका सञ्चालकले बालक केही दिनदेखि स्टोरमा काम गर्दै आएको बताएका छन् । तर बालक हराएको विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत व्यापक रूपमा सार्वजनिक भइसकेको अवस्थामा पनि प्रहरी वा सम्बन्धित निकायलाई जानकारी नगरिएको भन्दै सञ्चालकको भूमिकामाथि प्रश्न उठेको छ ।

बालकलाई लुकाएर राखिएको आशङ्कामा आर.एन. डिपार्टमेन्ट स्टोरका सञ्चालकमाथि समेत अनुसन्धान सुरु गरिएको स्थानीय पत्रकारले बताएका छन् । बालक फेला परेपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page