सुनसरी, ४ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भयरहित वातावरणमा मतदाताले मतदान गर्ने गरी सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनले सुनसरीको इटहरीमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण बन्न नसकेको बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले राजनीतिक दलसहित मतदाताले ढुक्कका साथ निर्वाचनमा भोट हाल्ने वातावरण नबनाएका कारण तोकिएको मितिमा निर्वाचन हुनेमा अन्यौलतामा रहेको बताउनु भयो । उहाँले मतदाताले भयरहित वातावरणमा भोट हाल्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मुख्यमन्त्री कार्कीले सबैले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन होस् भन्ने कामना गरेपनि वर्तमान सरकारले सङ्गठित अपराधलगायतका मुद्दा फिर्ता लिएको अवस्थाले सरकारले कुन नियत राखेर निर्वाचन गराउन लागेको भन्ने विषय शङ्कास्पद भएको बताउनु भयो । उहाँले कारागारबाट भागेका कैदीबन्दी र सुरक्षा निकायबाट लुटिएको हतियार सरकारले फिर्ता ल्याउन नसकेको अवस्थामा भयरहित ढङ्गमा निर्वाचन हुने अवस्था नभएको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालको मानव अधिकार अभियानको पर्याय बनेको इन्सेकले अघिल्ला निर्वाचनमा जस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्ने बताउनु भयो । उहाँले भदौ २३ र २४ गतेको आन्दोलनपछि हरेक क्षेत्रमा राजनीतिक सचेतनाका आधारहरू देखिएकाले इन्सेकले समेत स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन भएको नभएको पर्यवेक्षण गर्ने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद घिमिरेले अघिल्ला निर्वाचनमा भन्दा सुरक्षाका दृष्टिले भरपर्दो वातावरण हुने बताउनु भयो । उहाँले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा मतदानस्थलको वर्गीकरण गरी सुरक्षा रणनीति लागू गरिएकाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद पोखरेलले जनताले मत दिएर पठाएका निर्वाचितहरूले सत्तामा लुछाचुँडी मात्र गर्ने र भागवण्डा मिलाएर खाने तर जनतालाई कुनैपनि किमिसको सुविधाको प्रत्याभूति गराउन नसकेकाले भदौ २३ र २४ गतेको आन्दोलन भएको बताउनु भयो । उहाँले निर्वाचनले मात्र लोकतन्त्रको स्थायित्व नहुने तर निर्वाचितहरूले जनताका समस्यालाई सम्बोधन गरेको खण्डमा लोकतन्त्र स्थायी हुने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालका राजनीतिक दल जनताप्रति इमानदार नभएका कारण मुलुकमा विभिन्न खाले अफ्ठ्यारा अवस्थाहरू सिर्जना भएको बताउनु भयो । उहाँले नेपालका राजनीतिक दल र तिनका प्रतिनिधिले मसिनो गरी मानव अधिकारका सवाल र नेपाल सरकारले मानव अधिकार स्थापनाका लागि अर्न्तराष्ट्रिय रूपमा गरेका अनुमोदनको महत्वलाई बुझ्न नसक्दा नेपालमा हरेक निर्वाचनमा मानव अधिकारका सवाल जोडिदै आएको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा नागरिक समाज इटहरीका पूर्व अध्यक्ष जगदिशप्रसाद ओलीले निर्वाचनमा कसरी भोट हाल्ने र किन भोट हाल्ने विषयमा विद्यालयस्तरको पाठ्यक्रममै समावेश गर्न आवश्यक रहेको बताउनु भयो ।
वरिष्ठ पत्रकार यज्ञ शर्माले निर्वाचन भयरहित र निश्पक्ष ढङ्गबाट सम्पन्न गराउन नेपालमा इन्सेक र हुरोन मानव अधिकारका सवालमा पर्यायजस्तै भएकाले नागरिक समाजले मतदातालाई आश्वस्त पार्न आवश्यक रहेको बताउनु भयो ।
नियोकका दिनेश श्रेष्ठले आगामी निर्वाचनमा राजनीतिक दलहरु कति इमान्दार भएर निर्वाचनमा सहभागी हुने हुन त्यसले निर्वाचनको वैधता हुने वा नहुने तय गर्ने बताउनु भयो । उहाँले निर्वाचन अपरिहार्य भएकाले प्रमुख राजनीतिक दलले जनताका लागि भएपनि आगामी निर्वाचनमा इमान्दार भएर सहभागी हुन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा एसओएस बालग्राम इटहरीका निर्देशक डिसी चौधरीले निर्वाचनमा राजनीतिक दलले बालबालिकालाई चुनावी प्रचार अभियानमा संलग्न गराउने गरेकाले बाल अधिकारका सवाल राजनीतिक दलबाटै प्रभावित भएको बताउनु भयो । उहाँले चुनावमा बालबालिकाको प्रयोग भएको विषयमा मानव अधिकारकर्मीले खरो रूपमा खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपाल मानव अधिकार सङ्गठनका संस्थापक अध्यक्ष डा. आनन्द आचार्यले राजनीतिक दलका प्रतिनिधिले जनताको भावना अनुसार देशमा विकासका आधारहरू सिर्जना गर्न नसक्दा नवयुवा पुस्ताले आन्दोलन गर्नुपरेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा पाँचथरको फिदिम नगरपालिका मेयर मित्रदेव काफ्लेले लोकतन्त्रको आधार निर्वाचन भएको र स्वच्छ निर्वाचनले मात्र लोकतन्त्रको स्थायित्व हुने बताउनु भयो ।
नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले निर्वाचन पर्यवेक्षण सुन्दा सजिलो विषयजस्तो सुनिएपनि स्वच्छ निर्वाचनका लागि निर्वाचन पर्यवेक्षणको निकै महत्व रहेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका अधिकारकर्मी, नागरिक समाज, पत्रकार, अभियान्तालगायतको सहभागिता थियो । अन्तरक्रिया कार्यक्रममा आगामी चुनावमा प्रमुख राजनीतिक दलको भूमिका र प्रतिबद्धता, सामाजिक सञ्जालको प्रयोग, निर्वाचन सुरक्षा, मतदाता शिक्षा, पर्यवेक्षक निष्पक्षता लगायतका विषयमा चर्चा भएको थियो ।
डा. के पी सुबेदीको अध्यक्षतामा इन्सेकका मनोहर पोखरेलद्वारा सञ्चालित कार्यक्रममा जयबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।














