कञ्चनरूप, ६ माघ । जिल्ला प्रशासन कार्यालय, सप्तरीले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन सबै सरोकारवालासँग आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मंगलबार एक सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी हातहतियार संकलन गर्न निर्देशन दिएका हुन्।
जारी सूचनाअनुसार २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न सप्तरी जिल्लामा रहेका सबै इजाजत प्राप्त हातहतियारहरू अस्थायी रूपमा बुझाउनुपर्नेछ ।
निर्वाचन प्रक्रिया सम्पन्न भएको एक महिनापछि सम्बन्धित व्यक्तिले ती हातहतियार फिर्ता पाउने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयले मिति २०८२ माघ २० गतेभित्र नजिकको प्रहरी इकाइमार्फत जिल्ला प्रहरी कार्यालय सप्तरीमा हातहतियार बुझाउन आग्रह गरेको छ।
शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ ।










