विराटनगर, १५ माघ । मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गतका विभिन्न प्रहरी इकाइहरूले नियमित चेकजाँच तथा विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बुधबार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर महानगरपालिका–१५ बाट १ ग्राम ६४ मिलिग्राम ब्राउन सुगरसहित धरान उपमहानगरपालिका–१५ का सुजन धमलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई शंकास्पद गतिविधिका आधारमा खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको हो ।
यसैगरी, प्रहरी चौकी गछीयाबाट खटिएको टोलीले सुन्दरहरैचा नगरपालिका–६ बाट अनिष मगर, विजय राई, पवन तामाङ र नबिन राईलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २२८ चक्की प्रतिबन्धित औषधी तथा २ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागूऔषध ओसारपसार तथा दुर्व्यसन नियन्त्रणका लागि जिल्लाभर निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको प्रहरीले बताएको छ।








