भोजपुर, १६ माघ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवा क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित ट्र्याक्टर र ९ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मचुवाबाट धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्र्याक्टरलाई चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार ट्र्याक्टरको डिकी भित्र लुकाइ राखिएको ४३ वटा बोरामा ८२६ किलो ६६० ग्राम लागूऔषध गाँजा फेला परेको थियो । बरामद गाँजासहित ट्र्याक्टरलाई नियन्त्रणमा लिई चालक तथा त्यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भोजपुर आमचोक–९ का रुद्र बहादुर श्रेष्ठ, निशान मगर, नीर बहादुर श्रेष्ठ, धनकुटा सहिदभूमि–२ का सुदिप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिसुन्के, दीप कुमार बिसुन्के तथा ताप्लेजुङ मिरिङ्डेन–६ का लाक्पा शेर्पा रहेका छन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।










