कञ्चनरुप, २२ माघ । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत राजविराजको फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।
पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका–४ का मनुका सिंह रहेका छन्। उनलाई चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना तोकिएको थियो। यस्तै, राजविराज नगरपालिका–५ का महेश कुमार दासलाई केही सार्वजनिक अपराध मुद्दामा पाँच सय रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी, तिलाठी कोइलाडी गाउँपालिका–८ का रामप्रसाद साह तेली र श्यामनन्द कुमार महतामाथि कुटपिट मुद्दामा जनही पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई बिहीबार जिल्ला अदालत राजविराजमा बुझाइएको र उनीहरूबाट कुल २५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनलाई निरन्तरता दिने जनाएको छ ।














