कोशी प्रदेश समाचार

बालबालिकालाई निर्वाचन गतिविधिमा प्रयोग नगर्न प्रजिअलाई ध्यानाकर्षण

बिराटनगर, २४ माघ । मानव अधिकार रक्षक सञ्जाल कोशी तथा इन्सेक कोशी प्रदेश कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकालाई कुनै पनि प्रकारका निर्वाचनसम्बन्धी गतिविधिमा प्रयोग नगर्न आग्रह गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाएका छन्।

मिति २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बुझाइएको पत्रमा नेपालको संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०७५, अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धि १९८९ तथा निर्वाचन आचारसंहिता २०८२ अनुसार बालबालिकालाई राजनीतिक गतिविधि, प्रचार–प्रसार, जुलुस, पोस्टर टाँस्ने तथा मतदाता प्रभावित गर्ने कार्यमा संलग्न गराउन नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।

पत्रमा बालबालिकालाई निर्वाचनजन्य गतिविधिमा प्रयोग गर्दा उनीहरूको शारीरिक, मानसिक र शैक्षिक विकासमा नकारात्मक असर पर्ने तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकाको समेत उल्लंघन हुने जनाइएको छ। यस्ता कार्यले बालबालिकाको भविष्य र समग्र समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने भएकाले कडाइका साथ रोकथाम गर्नुपर्नेमा जोड दिइएको छ।

संस्थाहरूले निर्वाचनलाई बालमैत्री, स्वच्छ, समावेशी र भयरहित बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायलाई स्पष्ट निर्देशन जारी गर्न माग गरेका छन्। साथै अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा बिरामी मतदाताका लागि सहजीकरण र प्राथमिकताको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार वा निकायमाथि निर्वाचन आयोग ऐन, २०७३ अनुसार कारबाही गर्न माग गर्दै मानव अधिकार संरक्षण र स्वच्छ निर्वाचनका लागि सहकार्य गर्न आफूहरू सदैव तत्पर रहेको संस्थाहरूले बताएका छन्।

ध्यानाकर्षण पत्रमा मानव अधिकार रक्षक सञ्जाल कोशीका संयोजक देबी बास्कोटा तथा इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेलको हस्ताक्षर रहेको छ।

शुक्रबार मोरङका मुख्य निर्वाचन अधिकृत चित्र बहादुर गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला र प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगाललाई छुट्टाछुट्टै भेटेर निष्पक्ष निर्वाचनको तयारी र आचारसंहिता पालनाका विषयमा छलफल गर्दै उपरोक्त  बमोजिमको ध्यानाकर्षण पत्र बुझाएको इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेलले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page