समाचार

सप्तरीमा बेवारिसे बम विस्फोट हुँदा चार बालक घाइते

कञ्चनरुप, २४ माघ। सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार बेवारिसे बम विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। स्थानीयका अनुसार नेपाली सेनाले अभ्यासका क्रममा छोडेको हुनसक्ने बम विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्।
घर नजिकैको वन क्षेत्रमा पिकनिक खान गएका बालकहरू शनिबार बिहान करिब साढे ११ बजे अचानक बम विस्फोटमा परेका थिए। विस्फोटबाट छर्रा लागेर रुपनी गाउँपालिका–६ का साजन आले मगरका ११ वर्षीय छोरा साहास मगर, मनोज थापा मगरका ९ वर्षीय छोरा प्राशिस थापा मगर, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर थापा मगर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज विक गम्भीर घाइते भएका छन्।
घाइते चारैजनालाई सुरुमा मधेस प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारका लागि भर्ना गरिएको थियो। थप उपचारका लागि राजविराज पठाइएको र हाल छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको स्थानीयले जनाएका छन्।
घाइतेमध्ये साहास र प्राशिसको पैताला गम्भीर रूपमा क्षतिग्रस्त भएको तथा शरीरका विभिन्न भागमा बमका छर्रा लागेको छ। कविर र सुरजको पनि शरीरका विभिन्न भागमा छर्रा लागेको बताइएको छ।
उक्त क्षेत्र नेपाली सेनाको अभ्यास स्थल रहेको र अभ्यासका क्रममा विस्फोट नभएको वा छुटेको बम विस्फोट भएको हुनसक्ने स्थानीयको आशंका छ। अभ्यास सकिएपछि एक बम हराएको आशंकामा सेनाको १५ सदस्यीय टोली लामो समयसम्म घटनास्थल वरपर बस्दै खोजतलासमा जुटेको थियो।

घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

   

You cannot copy content of this page