पर्सा, २ फागुन । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा ठूलो परिमाणमा लगाइएको गाँजा तथा अफिमका बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
शनिबार अपराह्न करिब ३ः४० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली बाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा २५ जनाको प्रहरी टोली खटिएको थियो ।
आधारभूत अस्पताल नजिकै भेटियो अफिम
प्रहरीका अनुसार वडा नं. ४ फरदवा स्थित आधारभूत अस्पताल नजिकै रहेको करिब ३.५ कठ्ठा ऐलानी जग्गामा करिब २५ हजार अफिमका बोट लगाइएको अवस्थामा फेला परेको थियो।

त्यसैगरी सोही स्थान नजिकै ५ कठ्ठा ऐलानी जग्गामा करिब २ हजार गाँजाका बोट र वडा नं. ५ देउरिया गाउँभन्दा पूर्वपट्टि रहेको ५ कठ्ठा ऐलानी जग्गामा करिब ३ हजार गाँजाका बोट भेटिएको प्रहरीले जनाएको छ।
१३.५ कठ्ठा ऐलानी जग्गामा अवैध खेती
कुल १३.५ कठ्ठा ऐलानी जग्गामा लगाइएको करिब ५ हजार गाँजा र २५ हजार अफिमका बोट प्रहरीले फडानी गरी नष्ट गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।










