बिराटनगर, ३ फागुन । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार बिराटनगर–५ पुलचोकस्थित भित्री सडक खण्डमा बा ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई सडक छेउको खाल्डोमा छिरेको अवस्थामा फेला परेको थियो। सिआरबी बरगाछी, वडा प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली घटनास्थलमा पुग्दा चालक फरार रहेको प्रहरीले जनाएको छ। गाडीको जाँच गर्दा भित्रबाट करिब ४ सय २० किलोग्राम गाँजा बरामद गरिएको हो।
यसैगरी, मोरङको जहदा गाउँपालिका–१ मा चन्दन कुमार साहले गाँजा लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा खानतलासी गरेको थियो। खोजतलासका क्रममा साहले घरछेउको खाडलभित्र प्लास्टिकमा पोका बनाई लुकाई राखेको ९ पोकामा २ सय ७५ किलो ८ सय ग्राम गाँजा फेला पारिएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित साहलाई नियन्त्रणमा लिइएको छ।
बरामद गरिएको कुल गाँजाको तौल ६ सय ९५ किलो ८ सय ग्राम पुगेको छ। फरार चालकको खोजी कार्य जारी रहेको तथा पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।










