समाचार

सप्तरीमा हात्तीको आक्रमणबाट ८१ वर्षीय वृद्ध घाइते, विराटनगरमा उपचाररत

कञ्चनरुप, ९ फागुन । सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका–६ महुलीमा शनिबार बिहान जंगली हात्तीको आक्रमणमा परी एक वृद्ध घाइते भएका छन्।
स्थानीय ८१ वर्षीय कर्णबहादुर भुजेल घरनजिकैको वन क्षेत्रमा घाँस काट्न गएका बेला बिहान करिब ७ः३० बजे हात्तीले आक्रमण गरेको पारिवारिक स्रोतले जनाएको छ। अचानक भएको आक्रमणबाट उहाँको हातसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ।
घाइते भुजेललाई तत्काल उपचारका लागि विराटनगरस्थित अस्पताल लगिएको छ। चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ।
सप्तरीको उत्तरी वन क्षेत्रमा पछिल्लो समय हात्तीको आवतजावत बढ्दै गएको स्थानीयले बताएका छन्। हात्तीको हुल बस्ती नजिक देखिन थालेपछि सर्वसाधारणमा त्रास फैलिएको छ।

वन क्षेत्र नजिक बसोबास गर्ने नागरिकले सम्बन्धित निकायसँग हात्ती नियन्त्रण तथा सुरक्षाका उपाय अवलम्बन गर्न माग गरेका छन्।

   

You cannot copy content of this page