मधेसको पहिचान, संस्कृति र जन्मभूमिप्रतिको प्रेमलाई केन्द्रमा राख्दै र्यापर सिड वाग्लेले ‘मधेश मेरो पहिचान’ सार्वजनिक गरेका छन्।
उत्सव आचार्य
कञ्चनरुप, ९ फागुन । नेपाली र्याप सङ्गीत क्षेत्रमा चिनिएका कलाकार शेखर कुमार वाग्ले (र्यापर सिड वाग्ले) ले आफ्नो नयाँ र्याप गीत “मधेश मेरो पहिचान” सार्वजनिक गर्नुभएको छ। गीत सार्वजनिक भएसँगै उहाँ पुनः चर्चाको केन्द्रमा आउनुभएको छ।
लामो समय बेलायत बसाइँका क्रममा र्याप सङ्गीत यात्रा सुरु गर्नुभएका सिड वाग्ले हाल नेपाल फर्किएपछि व्यवसाय, राजनीति र मिडिया क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ। उहाँले इमेज च्यानल मा प्रशारण भएको “बाबा छोरी” कार्यक्रम सञ्चालनसमेत गर्नुभएको थियो।
यसपटक भने उहाँले आफ्नै जन्मभूमि मिलटोल, रुपनगर–सप्तरीका बाल्यकालीन सम्झना र मधेसको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय धरोहरलाई समेटेर नयाँ सिर्जना प्रस्तुत गर्नुभएको हो। गीतमा नेपालको ऐतिहासिक चन्द्र नहर र प्रसिद्ध सप्तकोशी नदी लगायतका स्थलहरूलाई विशेष रूपमा समेटिएको छ।
मधेसको भेषभूषा, संस्कार, मिलटोलको भावना तथा जन्मभूमिप्रतिको गहिरो मायालाई गीतमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। “म विश्वको जहाँ रहे पनि मेरो मन सबैभन्दा बढी आफ्नो मधेसमै बस्छ” भन्ने सन्देश बोकेको उक्त र्यापले कञ्चनपुर–सप्तरीदेखि समग्र मधेस क्षेत्रसम्म चर्चा बटुलिरहेको छ।
स्थानीय युवाहरूबीच देशप्रेम, पहिचान र एकताको भावना जागृत गर्ने उद्देश्यले सार्वजनिक गरिएको गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। मधेसलाई विश्वकै सुन्दर र प्रिय भूमि भन्दै गरिएको प्रस्तुतिले सिड वाग्लेलाई पुनः संगीत यात्रामा सशक्त उपस्थिति जनाउन सफल बनाएको छ।














